क्यान्सरका एक सय भन्दा बढी प्रकार हुन्छन् । जसले शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ । बिश्व स्वास्थ्य संगठनका अनुसार सन् २००८ मा ७६ लाख मानिसको क्यान्सरका कारण मृत्यु भएको थियो । यो विश्वभरमा हुने समग्र मृत्युको १३ प्रतिशत हो । क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत अल्प विकसित र कम विकसित देशमा हुने गरेको छ । विश्वभरमा नै पाच प्रमुख क्यान्सरका कारण हुने पुरुषहरुको मृत्यु मध्येमा फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्ननलीको क्यान्सर रहेका छन् । विश्वभरी नै क्यान्सरका कारण हुने महिला मृत्युमध्येमा स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर रहेका छन् ।

सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न सके क्यान्सरबाट हुने मृत्यु २२ प्रतिशत रोक्न सकिन्छ । यो क्यान्सर रोकथाम गर्न सकिने एक मात्र ठुलो उपाय पनि हो । विश्वभरी हुने क्यान्सरका कारणमध्ये पाँच भागको एक भाग जटिल संक्रमणका कारण हुन्छ । उदाहरणका लागि ह्युमन प्यापिलोमा भाइरसका कारण पाठेघरको मुखको क्यान्सर र हेपाटाइटिस बि भाइरसका कारण कलेजोको क्यान्सर हुन्छ ।

सूर्तिजन्य पदार्थको प्रयोग नगर्ने, सन्तुलित भोजन गर्ने, व्यायाम गर्ने र सन्तुलित मात्रामा मद्यपान सेवन गर्दा ३० प्रतिशत भन्दा बढी क्यान्सरको निदान गर्न सकिन्छ । साथै विकासोन्मुख राष्ट्रहरुमा ह्युमन प्यापिलोमा भाइरस र हेपाटाइटिस बि बिरुद्धको खोप दिइयो भने क्यान्सरका कारण हुने २० प्रतिशत मृत्यु कम गर्न सकिन्छ । सजगता अपनाउने हो भने ३३ प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ, ३३ प्रतिशत क्यान्सरलाई निको पार्न सकिन्छ भने ३३ प्रतिशत क्यान्सरमा चाहिँ जीवन लम्व्याउन मात्र सकिन्छ ।

यस्तो भयावह अवस्था हँुदा पनि धेरै बिरामी उपचारको दायरामा आउन सकेका छैनन् । प्रारम्भिक अवस्थामा अधिकांश क्यान्सरको उपचार सम्भव हुने भएपनि अस्पताल नै नआउने र आएपनि ढिलो गर्ने हुँदा धेरैलाई बचाउन सकिएको छैन । शरीरमा केही फरकपन आए पनि नबोली बस्ने, निकै अप्ठेरो अवस्था भएपछि मात्रै अस्पताल आउने नेपालीको बानी छ ।

नेपालका क्यान्सर रोगीमध्ये करिब १० प्रतिशतलाई मात्र रोग लागेको समयमै थाहा हुन्छ । नेपालमा जनसंख्याको करिब १३ प्रतिशतमा क्यान्सर रोग लागेको अनुमान छ । तर यसमध्ये करिब पाँच हजार बिरामी मात्र अस्पताल पुग्छन् । नेपालमा बर्षेनि ५० हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेको अनुमान गरिएको छ । शरीरमा अस्वाभाविक परिवर्तन आउनेबित्तिकै अस्पताल आइपुगे यो रोग निको पार्न सकिन्छ । क्यान्सरको लक्षणबारे चेतना नहुँदा पनि मृत्यु दर घटाउन नसकिएको हो ।

फरकफरक ठाउँका क्यान्सरको लक्षण फरक हुने भएपनि सामान्यतः निको नहुने खोकी वा धोध्रो स्वर हुनु, स्तन वा शरीरको अरु ठाउँमा नदुख्ने गिर्खा आउनु, कोठीको आकारमा परिवर्तन हुन क्यान्सरका लक्षण हुन् । त्यस्तै निको नहुने घाउ, अत्यधिक रक्तस्राव या पिप, दिसा वा पिसाब गर्ने बानीमा फेरबदल, अपच वा निल्न गाह्रो भए क्यान्सरको आशंका गरी अस्पताल पुग्नुपर्ने विज्ञहरू बताउँछन् । यो रोग जसलाई पनि र जहाँ पनि हुनसक्छ । क्यान्सर सरुवा रोग होइन तर मानिसमा अझै पनि या रोग सर्छ भन्ने गलत धारणा छ ।

मानव शरीरमा करोडौं शुक्ष्म कोषिका हुन्छन् । कतिपय कोषहरु दैनिक मर्ने र नयाँ बन्ने खालका हुन्छन् । यसरी प्रत्येक दिन बन्ने नयाँ कोषिका मानिसको जीनद्वारा नियन्त्रित हुन्छन् । तर प्रतिकुल अवस्थामा यिनै कोषिकाको बृद्धि असामान्य हुन पुग्छ । यस्ता असामान्यरूपले बृद्धि भएका कोषिका बिस्तारै सानासाना गिर्खा (ट्यूमर) मा परिणत हुन्छन् । यस्ता गिर्खाहरु २ प्रकारका हुन्छन् । शरीरलाई हानी गर्ने र नगर्ने । शरीरलाई हानी पु¥याउने गिर्खाहरु एक स्थानबाट अर्को स्थानमा सर्ने पनि गर्छन् । शरीरलाई हानी गर्ने यिनै गिर्खालाई नै क्यान्सर भनिन्छ । क्यान्सर मानिसको जुनसुकै अंगमा लाग्न सक्छ ।

क्यान्सर के कारणले हुन्छ भनेर किटान गर्न सकिँदैन । तर यसका केही कारक तत्व छन् । प्रमुख कारक तत्व त सूर्तीजन्य पदार्थ नै हो । चुरोट, खैनी, बिँडी र गुट्खाजस्ता पदार्थको सेवनले क्यान्सरको खतरा बढ्छ । त्यसैगरी, मादक र अखाद्य पदार्थ, अखाद्य रंग, रासायनिक पदार्थ राखिएको खाना, ढुसी परेको र नुन धेरै भएको खाना खाएमा पनि क्यान्सर हुनसक्छ । अर्को कुरा १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक वा वंशाणुगत कारणले पनि हुन्छ । यसका साथै विकीरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण र शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ । शुरुमा उपचार गरे क्यान्सर पूर्णरूपमा निको हुनसक्छ ।

नेपालमा क्यान्सर रोगको आधिकारिक तथ्यांक छैन । तर अहिलेसम्म महिला र पुुरुषको तुलना गर्ने हो भने नेपालमा सायद धूमपान कै कारणले होला, फोक्सोको क्यान्सर नै धेरैलाई लागेको पाइन्छ । महिलालाई मात्र हेर्ने हो भने पाठेघरको मुखको क्यान्सर र दोस्रोमा स्तन क्यान्सर देखिएको छ । नेपालमा यसबाहेक पेट, आमाशय, मुख र प्रोस्टेट क्यान्सरका रोगीहरु छन् ।

लक्षण

– स्वर परिवर्तन हुनु
– दुब्लाउदै जानु
– शरीरमा गाँठागँुठी वा गिर्खा देखिनु
– भोक नलाग्नु
– कोठी वा मुसाको आकार र रंग परिवर्तन हुनु
– थकाई बढी लाग्नु
– लामो समयसम्म घाउ निको नहुनु
– लगातार खोकी लाग्नु
– महिनावारी हुँदा रगत बढी हुनु
– अपच वा निल्न गाह्रो हुनु
– अत्याधिक रक्तश्राव वा पिप आएमा

रोकथामका उपाय

– धूमपान त्याग्ने
– जीवनशैली परिवर्तन, खानपान र शारीरिक व्यायाम
– मद्यपान नगर्ने
– स्वस्छ वातावरण
– हेपाटाइटिस बि भ्याक्सिन लगाउने
– जंकफूड नखाने
– पोलेको मासु, सुकटिी, सेकुवा नखाने
– गुप्ताङ्गको नियमित सफाई गर्ने
– नियमित पाठेघरको जाँच गर्ने
– धेरै जनासँग यौनसम्पर्क नराख्ने
– चिल्लो तथा बोसो कम खाने
– ताजा सागसब्जी र फलफूल खाने
– बासी वा ढुसी लागेको खाना नखाने
– धेरै नुन नखाने